चैत्र १६ गते, २०८० - २०ः३४
Follow us:

संविधान संशोधन विधेयकमा परिर्माजन असम्भवः कांग्रेस

३ पुस, काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले, मधेसी मोर्चाले भने जस्तो संविधान संशोधन विधेयकमा परिर्माजन सम्भव नभएको बताएको छ । साथै एमालेले भने जस्तो संशोधन फिर्ता वा थाती राखेर अघि बढ्न पनि सम्भव नरहेको बताएको छ ।

मधेसी मोर्चाले यथास्थितिमा संशोधन स्वीकार्य नभएको भन्दै परिर्माजनको माग गर्दै आएको छ । विभिन्न छलफलहरुमा प्रधानमन्त्री प्रचण्डले पनि छलफल गरेर पनि परिर्माजन गर्न सकिने बताएका छन् ।

तर, कांग्रेस यसमा सहमत देखिएको छैन । शनिबार बसेको माओवादी र मधेसी मोर्चासहितको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संशोधन विधेयकमा परिमार्जन हुन नसक्ने बताएका छन् ।

कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यहि संशोधन त पास गराउन गाह्रो छ । पार्टीभित्र असन्तुष्टि छ । र एमालेको सहयोग विना पास गराउन गाह्रो छ । के परिमार्जन गर्ने ?’

उनले अघि भने, ‘यो संशोधन विधेयकमा परिर्माजन गर्छौ भनेर अहिले नै भन्न सक्दैनौं ।’ यद्यपि संसदीय प्रक्रियामा गएपछि सबैले आ-आफ्नो संशोधन राख्न सक्ने उनले बताए ।

संशोधन अघि बढाउने योजना

संशोधनको विरोध गर्दै एमालेसहितका विपक्षी दलहरुले लगातार संसद बैठक अवरुद्ध पार्दै आएका छन् ।

संसदको अर्को बैठक सोमबारका लागि बोलाइएको छ । र, यो बैठकको कार्यसूचीमा संविधान संशोधन विधेयकलाई राखेर अघि बढ्ने सत्तारुढ दलहरुको प्रयास छ । नेताहरुका अनुसार कांग्रेस यही संशोधन विधेयकलाई संसदको प्रक्रियामा लैजान चाहन्छ ।

उसो त रामशरण महतसहितका केही नेताले संशोधन थाती राखेर चुनाव जान माग गर्दै आएका छन् । बालुवाटार बैठकमा नै महतले यो प्रस्ताव राखेका थिए, तर अस्वीकार भएको छ ।

प्रतिकृया लेख्नुहोस्: